विशेष महाधिवेशनमा अनिवार्य सहभागिताका लागि मधेश प्रदेश कांग्रेसको अपिल

tejnewskhabar.com

जनकपुरधाम, पुस २४ — नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको कार्यालयले पार्टीको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई सक्रिय सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउने उद्देश्यले समसामयिक नीति र नेतृत्वबारे छलफल एवं निर्णय गर्न विशेष महाधिवेशन आह्वान गरिएको जनाइएको छ। देशभरका करिब ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार केन्द्रीय समितिले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७(२) बमोजिम आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा मधेश प्रदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको अनिवार्य उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ।

त्यसैगरी, विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोह पुस २७ गते बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाइएको छ। उद्घाटन समारोहमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन मधेश प्रदेश कांग्रेसका अगुवा नेता, विभिन्न तहका जिम्मेवार पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई समेत उपस्थितिका लागि आह्वान गरिएको छ।

सूचना नेपाली कांग्रेस मधेश प्रदेशका उप–सभापति चन्द्र शेखर कुमार यादव र उप–सभापति मा. वीरेन्द्र प्रसाद सिंहद्वारा संयुक्त रूपमा जारी गरिएको हो।


प्रतिक्रिया