रौतहट, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले “यहाँ बेथितीको चाङ छ, तर म क्रमशः सबै सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
सोमबार गौरमा नेपाली कांग्रेसद्वारा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार मेरो पहिलो प्राथमिकता हो ।” “विवादमा अल्झिएका योजना सुल्झाएर तीव्र गतिमा अघि बढाउँछु उनले भने ।”
प्रदेशमा व्याप्त बेथितीहरुलाई हटाउने मुख्यमन्त्री यादवले प्रतिबद्धता जनाउदै – “बेथिति सकाउँछु, सुशासन ल्याउँछु, मधेशीलाई विकासको अनुभूति गराउछु”
“यो सात दलको गठबन्धन सरकार हो, सबैको सहमतिमा निर्णय गर्छु, आगामी निर्वाचनसम्म स्थिर रहन्छ ।” “पुरानो सरकारका कुरा गर्दिनँ, अब नयाँ काम गरेर देखाउँछु ।”
कांग्रेसलाई बलियो बनाउने आह्वान गर्दै उनले थपे–“कांग्रेस कमजोर भयो भने मधेशमै हामी कमजोर हुन्छौं । हरेक तहमा इमानदार कार्यकर्तालाई नेतृत्व दिनुपर्छ ।”
यसअघि बिहानै उनले रौतहटका प्रसिद्ध शक्तिपीठहरू मत्सरी दुर्गा मन्दिर र राजदेवी मन्दिरमा पूजा–अर्चना गरेका थिए भने विभिन्न ठाउँमा कार्यकर्ताले गरेको स्वागतमा सहभागी भएका थिए ।