संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणमा विद्यार्थी नेतृत्वको भूमिका अपरिहार्य : रञ्जित कर्ण

tejnewskhabar.com

काठमाडौं १३ गते पुस। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा “संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणको संकल्प” विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख वक्ता संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले संविधान निर्माणदेखि कार्यान्वयनसम्मको यात्रामा विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकाको चर्चा गर्दै संविधानको सफल कार्यान्वयन नै नागरिक अधिकार सुनिश्चित गर्ने मुख्य आधार भएको बताउनुभयो। उहाँले लोकतन्त्र, समावेशिता र समान अधिकारलाई व्यवहारमा उतार्न युवापुस्ताले निरन्तर सचेत र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

पूर्व अध्यक्ष कर्णले संविधानसभामा आफूले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै संविधानले प्रत्याभूत गरेका मौलिक हकहरू कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति, सुशासन र नागरिक दबाब आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले नेविसंघले सदैव लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारका पक्षमा अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएको उल्लेख गर्नुभयो।

विचार गोष्ठिमा सहभागी वक्ताहरूले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरू, नागरिक अधिकार संरक्षणका समसामयिक मुद्दा तथा विद्यार्थी संगठनको जिम्मेवारीबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लाका विद्यार्थी नेता, बुद्धिजीवी तथा विभिन्न क्याम्पसका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा आयोजक नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले संविधानको मर्मअनुसार अधिकार र कर्तव्यप्रति सचेत रहँदै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया