सर्लाही, पुस २५ गते — नेपाली कांग्रेसको विधानअनुसार महासमिति, केन्द्रीय समिति तथा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले स्पष्ट पारेको छ।
जिल्ला कार्यसमिति सर्लाहीद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई व्यक्तिगत रूपमा महासमिति वा विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको उल्लेख गरिएको छ। हाल केही व्यक्तिहरूले विधान विपरीत गतिविधि गर्दै विशेष महाधिवेशनको नाममा भ्रम फैलाइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य नरहेको निर्णय गरिसकेको उल्लेख गर्दै त्यसविपरीत गरिने कुनै पनि गतिविधि पार्टी विधानविपरीत हुने स्पष्ट गरिएको छ।
यस किसिमका गतिविधिमा संलग्न नहुन तथा पार्टीको अनुशासन र एकतालाई मजबुत बनाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले जिल्लाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा नेता–कार्यकर्तालाई हार्दिक अपिल गरेको छ।
प्रेस विज्ञप्तिमा कार्यवाहक सभापति डा. सरोज कुमारको हस्ताक्षर रहेको छ।