राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षाका लागि मेलमिलाप अपरिहार्य : डा. शेखर कोइराला

tejnewskhabar.com

काठमाडौँ, पौष १६ — राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय एकता, मेलमिलाप र सार्वभौमिकताको संरक्षण आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्।

लोकतान्त्रिक आन्दोलनका नेता विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागेर “राष्ट्रिय मेलमिलाप” को सन्देशसहित स्वदेश फर्किएको स्मरण गर्दै डा. कोइरालाले उक्त ऐतिहासिक निर्णय नेपाल राष्ट्रको अस्तित्व जोगाउने दूरदर्शी कदम भएको उल्लेख गरे।


उनले त्यस समयमा विश्व महाशक्ति राष्ट्रहरूबीचको द्वन्द्व र दबाबका बीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशमा राष्ट्रियता, स्वतन्त्रता र अखण्डता जोगाउन राष्ट्रिय एकता र मेलमिलाप नै एकमात्र विकल्प भएको विपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।


पाँच दशकपछि पुनः विश्व राजनीतिमा महाशक्तिहरूको दबाब र स्वार्थ देखिन थालेको उल्लेख गर्दै डा. कोइरालाले यस्तो परिस्थितिमा विपी कोइरालाको विचारलाई मन, वचन र कर्मबाट आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए।


राष्ट्रिय मेलमिलाप केवल नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको स्पष्ट पार्दै उनले सत्ता राजनीतिभन्दा माथि उठेर सार्वभौम सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिए।


डा. कोइरालाले राष्ट्रिय एकता र मेलमिलापबाट मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा सम्भव हुने उल्लेख गर्दै विपीको सन्देशलाई राष्ट्रिय सोच, उद्देश्य र साझा प्रतिबद्धताका रूपमा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसको काँधमा रहेको बताए।


कांग्रेसभित्रको एकता र मेलमिलाप राष्ट्रिय एकताको पहिलो खुड्किलो भएको उल्लेख गर्दै उनले आन्तरिक मतभेद, विवाद र व्यक्तिगत महत्वाकांक्षालाई त्यागेर लोकतन्त्रको रक्षा तथा भावी पुस्तालाई शान्ति र समृद्ध नेपाल हस्तान्तरण गर्न एकताबद्ध भएर आगामी राष्ट्रिय निर्वाचनमा होमिनु पर्ने बताए।


नयाँ राजनीतिक चुनौतीहरूको सामना गर्न सम्पूर्ण एकताको विकल्प नरहेको उल्लेख गर्दै डा. कोइरालाले विपी कोइरालाको मेलमिलाप नीतिले नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।


उनले सन्देशको अन्त्यमा सबैलाई राष्ट्रिय मेलमिलापको भावनालाई आत्मसात् गर्न आग्रह गर्दै “जय नेपाल” का साथ आफ्नो मन्तव्य समापन गरेका छन्।

प्रतिक्रिया