रौतहट,२४ गते । चन्द्रनिगाहपुर — नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समिति (बिडिसीसी) को समन्वयात्मक समीक्षा बैठक रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा बिहीबार सम्पन्न बैठकमा सीमा वारपारबाट हुने लागुऔषधको अवैध ओसारपसार, अवैध हातहतियार तथा मदिरा तस्करी, नक्कली नोटको कारोबार, तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका विषयमा गहन छलफल गरिएको छ। साथै, संदिग्ध गतिविधिमा संलग्न व्यक्तिहरूको सूचनाको आदान–प्रदान गरी संयुक्त रूपमा नियन्त्रण गर्ने सहमति भएको बताइएको छ।
बैठकको नेतृत्व नेपालको तर्फबाट रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र भारतको तर्फबाट सीतामढीका डिएम रिची पाण्डेले गरेका थिए। सीमा क्षेत्रमा रहेका स्तम्भहरूको सुरक्षा, शान्ति–सुव्यवस्था कायम गर्ने तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।
बैठकमा रौतहटबाट एसपी रबीन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, गौर भन्सार प्रमुख विकास कुमार रजक, नापी कार्यालय गौरका प्रमुख मोहन महासेठ, डिएफओ हेमन्तप्रसाद साह, सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव, डिएसपी रुपा लाबुङ, प्रस्तावित गुल्म गौरका प्रमुख डिएसपी प्रेमसागर विस्ट तथा सन्तपुर बेसका डिएसपी राजेन्द्रबहादुर बस्नेत सहभागी थिए।
त्यसैगरी सर्लाहीबाट प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, एसपी योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरीका एसपी देबबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका संजय मण्डल, मलंगवा भन्सार प्रमुख ठाकुरप्रसाद आचार्य तथा महोत्तरीबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी हेराम्बा शर्मा, सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दनकुमार झा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकले सीमा क्षेत्रमा आपसी समन्वयलाई थप मजबुत बनाउँदै अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।