काठमाडौं१७ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि पार्टीभित्र चर्किएको बहसका बीच सभापति शेरबहादुर देउवाको आदेशमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ साल पौष १८ गते शुक्रबार, दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर मा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको छ। पछिल्लो समय विशेष महाधिवेशनको माग, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।
महामन्त्रीद्वयको सार्वजनिक अभिव्यक्तिपछि उत्पन्न राजनीतिक तथा संगठनात्मक विषयमा पार्टी नेतृत्वले औपचारिक छलफल अघि बढाउन यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।