काठमाडौं २२ । आउँदो राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल हुने करिब निश्चित भएको छ। प्रमुख दलहरूबीच सिट बाँडफाँटको विषयमा सहमति अन्तिम चरणमा पुगेको छ।
कांग्रेस नेता रमेश लेखकका अनुसार चार दलबीचको छलफलबाट कांग्रेस र एमालेले समान रूपमा ७–७ सिट लिने, नेकपाले ३ सिट पाउने तथा जसपाले १ सिट प्राप्त गर्नेगरी समझदारी बनिरहेको छ। उनले सिट संख्याको विषयमा लगभग टुंगो लागेको बताउँदै क्लस्टर मिलानको विषय मात्रै बाँकी रहेको जानकारी दिए।
‘सिट संख्या लगभग सहमतिमा पुगेको छ, अब क्लस्टर कसरी मिलाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ,’ लेखकले भने।
दलहरूबीचको यो तालमेलले राष्ट्रिय सभा निर्वाचनमा साझा रणनीतिका साथ अघि बढ्ने संकेत दिएको छ। औपचारिक घोषणा भने क्लस्टर र उम्मेदवार टुंगिएपछि गरिने तयारी रहेको बताइएको छ।