स्वास्थ्य प्रणाली र दीर्घकालीन रोगी सेवामा सुधार माग्दै मुख्यमन्त्री कृष्णप्रसाद यादव र मन्त्री जङ्गलाल रायलाई स्वास्थ्य विभागको ज्ञापनपत्र

tejnewskhabar.com

जनकपुरधाम १५ गते पुष :  नेपाली कांग्रेस स्वास्थ्य विभाग, मधेश प्रदेशले प्रदेशको स्वास्थ्य प्रणाली तथा दीर्घकालीन रोगीसम्बन्धी सेवामा देखिएका समस्या समाधानको माग गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री जङ्गलाल रायलाई ज्ञापनपत्र बुझाएको छ।

स्वास्थ्य विभागले बुझाएको ज्ञापनपत्रमा मधेश प्रदेशका आठै जिल्लाका जिल्ला अस्पतालहरूमा दीर्घकालीन रोगीका लागि उपलब्ध स्वास्थ्य सेवा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरिएको छ। मधुमेह, क्यान्सर, मुटु, मृगौला, दमलगायत दीर्घरोगबाट पीडित नागरिकहरू आवश्यक औषधि, विशेषज्ञ चिकित्सक र नियमित सेवाको अभावमा निजी स्वास्थ्य संस्थामा उपचार गराउन बाध्य भइरहेको विभागको भनाइ छ।

ज्ञापनपत्रमा दीर्घकालीन रोगीका लागि घोषणा गरिएका सहुलियत तथा कार्यक्रमहरू प्रक्रियागत जटिलता, पहुँचको कठिनाइ र जानकारीको अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। साथै, जिल्ला अस्पतालहरूमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव, आवश्यक औषधिको नियमित आपूर्ति नहुनु र रेफर प्रणाली अव्यवस्थित रहेको समस्या पनि औंल्याइएको छ।

स्वास्थ्य विभागले तराई–मधेश क्षेत्रमा बढ्दो जाडोका कारण वृद्ध, बालबालिका, विपन्न तथा असहाय समुदायको स्वास्थ्य जोखिम बढ्दै गएको उल्लेख गर्दै लक्षित स्वास्थ्य तथा राहत कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमार्फत दीर्घकालीन रोगी लक्षित सहुलियत कार्यक्रमलाई सरल, सहज र जनमैत्री बनाउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आठै जिल्लामा विशेषज्ञसहितको दीर्घरोग सेवा विस्तार गर्न, सरकारी अस्पतालमा आवश्यक औषधिको नियमित आपूर्ति र जनशक्ति व्यवस्थापन सुदृढ गर्न तथा जाडो प्रभावित समुदायका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै विभागले यस विषयमा समयमै आवश्यक निर्णय लिई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अपेक्षा व्यक्त गरेको छ। ज्ञापनपत्र मधेश प्रदेश स्वास्थ्य विभागकी प्रमुख शर्मिला थापाको नेतृत्वमा बुझाइएको हो।

प्रतिक्रिया