२४ गते — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकारप्रति भइरहेका आलोचनाबीच पनि आफूहरू जिम्मेवारीबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले बाहिर जति नै दबाब र आलोचना आए पनि सरकारले काम छाडेर नभाग्ने दृढता व्यक्त गर्नुभएको हो।
मन्त्री गुप्ताले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पार्दै भन्नुभयो, “म कुनै पनि पार्टीको सदस्य होइन। लिएको पनि छैन। अहिले मेरो मुख्य ध्यान आगामी फागुनमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कसरी सफल बनाउने भन्नेमा केन्द्रित छ।”
उहाँका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता देशको खेल क्षेत्रको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएकाले यसको तयारीमा कुनै सम्झौता नगरी अगाडि बढ्ने योजना रहेको छ। प्रतियोगितालाई व्यवस्थित, पारदर्शी र सफल बनाउन मन्त्रालय सक्रिय रूपमा लागिरहेको मन्त्री गुप्ताको भनाइ छ।
सरकारप्रति असन्तुष्टि व्यक्त गर्नेहरूलाई लक्षित गर्दै उहाँले थप्नुभयो, “बाहिर जतिसुकै आलोचना भए पनि सरकारलाई लथालिङ्ग छोडेर भाग्दैनौँ। जिम्मेवारी लिएको छौँ भने त्यसलाई पूरा गरेरै छाड्छौँ।”
मन्त्री गुप्ताको भनाइलाई खेल क्षेत्रका सरोकारवालाहरूले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा महत्त्वपूर्ण रूपमा लिएका छन्।