सर्लाही (मलंगवा), ०७ पुस — सर्लाहीको मलंगवा नगरपालिका–११ गढहिया टोलबाट प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिति २०८२ साल पुस ८ गते साँझ करिब ५ बजेको समयमा विकाश राय यादवको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय मलंगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको हो।
प्रहरीले घरमा खानतलासी गर्ने क्रममा घरधनी विकाश राय यादव रोजगारीको सिलसिलामा बाहिर गएको बुझिएपछि उनकी श्रीमती इन्दु देवीलाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा घर तथा गोठ घरमा लुकाइराखिएको अवस्थामा कालो प्लास्टिकको झोलाभित्र गाँजाजस्तो देखिने पदार्थ २ किलो ५०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित पक्राउ परेकी इन्दु देवीलाई सम्मानित सर्लाही जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।